मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै ल्होसारको अवसरमा यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने जनाएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा तीन दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ। यही माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन मनाइने सोनाम ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलगायत नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सार्वजनिक बिदा दिने बताइएको हो।
आफ्नो स्थानीय तहमा तामाङ समुदायको बाहुल्यता रहेकोले सांस्कृतिक पर्व मन्जुश्री संवत् २८६० डुक-मु पुख्री (गरुड वर्ष) सोनाम ल्होसारको अवसरमा गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष मल्लले जानकारी दिए।
यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त राक्सिराङ गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास लिएको बताए।
Shares
प्रतिक्रिया