महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पथलैया–नारायणगढ सडकखण्ड विस्तारको विषयले हेटौंडा गर्माएको छ।
उक्त सडकखण्ड अन्तरगत पर्ने हेटौंडा बजार क्षेत्रको मेनरोडदेखि राप्तीरोडसम्मका धेरै घर तथा संरचनाहरु भत्कने भएपछि हेटौंडा गर्माएको हो।
संघीय सरकारको आयोजना अनुरुप गत असार १० गते सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिनभित्र यस क्षेत्रभित्र पर्ने घर, टहराहरु खाली गर्न सूचना नै जारी गरेको थियो। सडक डिभिजन कार्यालयको यो निर्णय विरुद्ध हेटौंडाका घरधनी तथा व्यवसायीहरु एकजुट हुँदै उक्त निर्णय विरुद्ध उत्रिएका छन्।
शनिबार पीडित घरधनी तथा व्यवसायीहरुले भेला आयोजना गर्दै सरकारको यो निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए। हेटौंडाका प्रायः सबै पसलहरु बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
हातमा कालो झण्डा समेत बोकेका व्यवसायीहरुले १६ गते कुनै पनि हालतमा हेटौंडामा डोजर चल्न नदिने बताए। सरकारले जबर्जस्ती गरेर आफूहरुको घर भत्काउन आए प्रतिकार गर्ने चेतावनी समेत दिए।
मुआब्जा नदिएर सडक विस्तार गर्न लागिएको, व्यक्तिको नाममा लालपुर्जा भएको घर भत्काउन खोजेको तथा व्यवसायीहरुलाई स्थानान्तरणको लागि हेटौंडा उपमहानगरपालिकाले कुनै भूमिका नखेलेको व्यवसायीहरुले आरोप लगाएका छन्।
सडक डिभिजन कार्यालय हेटौंडाले यही साउन १६ गतेदेखि संरचनाहरु भत्काउन थालिने बताउँदै आएको छ।
Shares
प्रतिक्रिया