ad ad

बागमती


बागमती : बैठक नबस्ने भन्दै सत्तापक्ष बाहिरियो, बैठक कुर्दै विपक्षी सांसद

बागमती : बैठक नबस्ने भन्दै सत्तापक्ष बाहिरियो, बैठक कुर्दै विपक्षी सांसद

नेपालखबर
असार १३, २०८० बुधबार १७:२९, हेटाैँडा

बागमती प्रदेशसभामा रोचक घटनाहरू भैरहेका छन्। मंगलबार (हिजो) विपक्षी दलले बैठक अवरोध गरेपछि आज (बुधबार) सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठकमै सहभागी भएनन्।

केही समय अघिसम्म नेपाली कांग्रेसको संसदीय बैठक जारी रहेको बताइएको थियो। यद्यपी, हालसम्म सत्तामा रहेका कांग्रेस सहित माओवादी केन्द्र र एकीकृत समाजवादी समेत बैठकमा सहभागी हुन प्रदेश सभाको बैठक कक्षमा प्रवेश गरेका छैनन्।

केहीबेरदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद मात्रै बैठक कक्षमा कुरिरहेका थिए। हिजो स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो।

निर्धारित समयमा बैठक सुरु गर्न नसकिएपछि दिउँसो १ बजेका लागि समय सारिएको थियो। १ बज्दा पनि बैठक सुरु हुने कुनै चहलपहल नदेखेपछि ५ बजे बैठक बस्ने भन्दै सूचना टाँस भएको थियो।

तर ५ नबज्दै सत्तापक्षका सबै सांसदहरु बैठक नबस्ने भन्दै बाहिरिएपछि विपक्षी दल एमाले र राप्रपाका सांसदहरु मात्रै बैठक कक्षमा रहेका हुन्।

प्रदेश सभा सचिवालयले टाँस गरेको सूचनालाई मान्दै ५ बजेपछि अर्को सूचना नआएसम्म एमाले र राप्रपा बैठक कक्षबाट नबाहिरिने बताएका छन्।

‘हामी विपक्षीको माग जायज थिए’ एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, ‘त्यसको जवाफ अनुत्तरित भएपछि बैठक बस्न मानेनन्। सभामुखले बैठक बोलाउँदा बैठकमै सहभागी नहुने अमर्यादित काम सत्ता पक्षले गर्नु दुखद हो।’

सरकार विपक्षी दलको जवाफ दिन तयार नरहेका कारण भाग्न खोजेको उनले आरोप लगाए।

यता, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले भने विपक्षी दलसँग कुरा नमिलेका कारण बैठक बस्न नसकिएको बताएका छन्।

‘हामी त बसिरहेकै थियौं। सबै माननीयज्यूहरु १७ गते बस्ने भन्दै निस्कनुभयो। हामी मात्रै किन बस्नु भनेर हामी पनि निस्कियौं,’ लामाले नेपालखबरसँग भने।

यद्यपी, हाल प्रदेश सभा भवनमा एमाले, राप्रपा र नेमकिपाका सांसद बसिरहेका छन्। माओवादी, कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी भने यसअघि नै बाहिरिसकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .