ad ad

बागमती


काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

नेपालखबर
असार ८, २०८० शुक्रबार १६:१७, काठमाडौँ

आर्थिक वर्ष २०८०/०८१ का लागि काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आज राष्ट्रिय सभा गृहमा बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो। 

अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चालु आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी बर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गरेका थिए। 

‘सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरपालिकाको दीर्घकालीन सोच भएको जनाइएको छ। यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समटिएको उनको भनाई छ। ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन्,’ शाहको भनाइ छ।
 

वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ् गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ बर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय रहेको बताइएको छ। 

बैठकमा नगर सभाका १७ जना सदस्यले धारणा राखेका थिए। 

‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन्। यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .