सडक भासिएका कारण सोमबार अपराह्न ४ बजेदेखि बन्द पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ।
सडक भासिएको ठाउँमा ग्याबिन भरेर बन्द भएको १८ घण्टापछि राजमार्ग खुलाइएको हो।
सडक भासिएको केही बेरदेखि ग्याबिन भर्ने काम गरेर १८ घण्टामा सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालय (धादिङ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जैयसवालले बताए।
२० मिटरभन्दा बढी भासिएको सडक नेपाल प्रहरी, सुरक्षा बल, नेपाल आर्मी, सबडिभिजन लगायत मिलेर पुननिर्माण गरिएको हो।
‘रातभर नै निर्माणका लागि खटियौंं। अलपत्र परेका यात्रुहरुलाई छिटोभन्दा छिटो गन्तव्य पठाउने उद्देश्यले काम नरोकी गर्दा पनि १७ घण्टाभन्दा बढी समय लाग्यो। ग्याबिन भरेर बाटो बनाइए पनि दुईतर्फी सवारी गुडाउन भने मिल्दैन। एकतर्फी मात्रै आउजाउ गर्नेगरी भर्खरैबाट सडक खुलाइएको छ’, डीएसपी जैसवालले नेपालखबरसँग भने।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलामाथिको मोटरेबल पुल भासिँदा हिजोदेखि यातायात बन्द भएको थियो।
वर्षाका कारण धुनिबेँसी नगरपालिकाको वडा नम्बर ६ धार्केतर्फ पुलको एकापट्टिको भाग भासिएको थियो।
Shares
प्रतिक्रिया