मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका ४ मा हात्तीको आक्रमणबाट घाइते ६४ वर्षीया राधा अधिकारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गम्भीर घाइते उनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा अहिले साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
हिजो आइतबार साँझदेखि गाउँमा देखिएको हात्तीले अधिकारीलाई सोमबार दिउँसो करेसावारीमा काम गरिरहेको बेला एक्कासी आक्रमण गरेको थियो।
केही दिन अघिदेखि निकुञ्ज क्षेत्रको जंगली हात्तीले गाउँमा आतंक मच्चाउँदा समेत हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोशित स्थानीयले सैनिक पोस्टमा तोडफोड र आगजनी गरेका छन्।
आक्रोशित स्थानीयले मनहरी– ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड गरेका हुन्।
मनहरी ४ र ५ का विभिन्न क्षेत्रमा निकुञ्जको जंगली हात्तीले आतंक मच्चाइरहेको छ।
Shares
प्रतिक्रिया