कुनै बेला थापाहरुले बसोबास गर्ने स्थानको परिचय बनाएको थापाथली अटोहब बन्दै जाँदा यसको पहिचान नै अब ‘अटोथली’ बन्नथालेको छ। काठमाडौंमा विशेषगरी कार ब्रान्डका शोरुमहरू धेरै ठाउँमा भए पनि धेरै ब्रान्ड एकै ठाउँमा रहँदा थापाथली पछिल्लो समय अटोहब बनेको छ। नेपाल भित्रिने विश्वमा चलेका प्रायः कार ब्राण्डका शोरुमहरू विकसित देशमा जस्तै एकै ठाउँमा भेटिन्छन्।
थापाथलीमा चर्चित १० वटा सवारीसाधनका ब्रान्ड रहेका छन्। विश्वका नाम चलेका फक्सवागन, निशान, हुन्डाई, पुज्योट, फोर्डदेखि छिमेकी देश भारतमा उत्पादन हुने टाटा, महिन्द्रा कम्पनीसम्मका आकर्षक शोरुमहरू थापाथलीमा छन्। गाडी खरिदबिक्री मात्र हैन, टेष्ट ड्राइभ र प्रयोग भइसकेका गाडी साट्ने अफरहरूले गर्दा पनि काठमाडौंमा गाडी प्रयोगकर्ताहरूको पहिलो रोजाइजस्तै बनेको छ यो क्षेत्र।
चर्चित ब्रान्डहरुको उपस्थितिसँगै ग्राहकको आवतजावतले थापाथली सवारीसाधन किनमेलको केन्द्र बनेको छ। सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेरेर छनोट गर्न पाउँदा ग्राहकलाई फाइदा त भएको छ नै, कम्पनीहरुलाई पनि नयाँ उत्पादन शोकेस गर्ने उपयुक्त थलो बनेको छ। ‘यसरी कम्पनीहरु एकै ठाउँमा आउनु सकारात्मक हो’, सीजी मोटोकर्पका करुण शाक्य भन्छन्, ‘बजारमा कम्पनीहरुको प्रतिस्पर्धा चल्दा सबैभन्दा धेरै फाइदा ग्राहकलाई हुन्छ, जसले अन्ततः आफ्नो ब्राण्डको बजार बढ्ने हुन्छ।’
प्रतिक्रिया